अपरिचित समूहद्वारा सल्यानमा तरकारी व्यापारीको ३ लाख लुटियो

सल्यानमा अपरिचित समूहले तरकारी खरिदका लागि आएका व्यापारीबाट ३ लाख रुपैया लुटेका छन । सल्यान जिल्लाको  कपुरकोट गाउँपालिका वडा नम्बर १ को कालापात्लाको जंगलमा चार पाँच जनाको समूहमा रहेका लुटेराले खुकुरी देखाएर व्यापारीको नगद ३ लाख रुपैयाँ लुटेर लगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

रा १ ख २३९१ नम्बरको मिनि ट्रकमा नेपालगञ्ज बाकेबाट तरकारी खरिद गर्न आएका सेराज हलवाई दिनदहाडै लुटपाटमा परेका हुन् ।लुटेराहरुको समूहले सोमबार विहान साढे ११ बजेतीरको समयमा गाडी रोकेर सामान्य तोडफोड गरी खुकुरी देखाएर तर्साउदै नगद ३ लाख लुटेर लगेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी इन्स्पेक्टर अर्जुन पौडेलले बताए  । मिनि ट्रकमा ब्यापारि र चालक तथा लेवर सहित चार जना थिए । मुख छोपेर आएका लुटेराहरुले गाडीको चाबी समेत खोसेर लगेका छन् भने गाडीका कागजात च्यातिदिएका छन् । रकम लुटेर उनीहरु रोल्पा तिर भागेको व्यापारिले जनाए । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।