भारत आठौं पटक साफ च्याम्पियन, नेपाल उप-विजेतामै सिमित

शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको साफको उपाधि भिडन्तमा नेपाललाई ३-० गोलले पराजित गर्दै भारत आठौं पटक उपाधी विजेता भएको छ ।
पहिलो हाफ दुबै टीमले बराबरी खेलेका भएपनि  दोस्रो हाफको ४९ मिनेटमा भारतका लागि कप्तान सुनील क्षेत्रीले पहिलो गोल गरे। उनले प्रितम कोटलको क्रसमा हेडमार्फत गोल गरे। यो सङ्गै  साफ च्याम्पियनसिप २०२१ मा सुनीलले पाँच गोल गर्न सफल भए।
खेलको ५० मिनेटमा भारतले अग्रता दोब्बर पार्‍यो।सुरेश सिंहले भारतका लागि गरेको गोलमा मोहमद यासिरले असिस्ट गरेका थिए।
भारतका लागि तेस्रो गोल भने अब्दुल समादले गरेका थिए उनले दोस्रो हाफको इन्जुरी टाइममा रहिम अलीको पासको सदुपयोग गर्दै भारतको जित सुनिश्चित गरेका थिए।
यसपटक साफको फाइनल पुगेर इतिहास रचेको नेपाली टोली भने उप-विजेतामै सिमित भयो। उपाधि जितेर अर्को इतिहास बनाउन कोशिसमा रहेको नेपालको चाहाना भने यो पल्ट अधुरै रह्यो ।
नेपालले यसअघि खेलेका १२ संस्करणमा एक पटक तेस्रो (१९९३) हुँदा तीन पटक सेमिफाइनलबाट (२०११, २०१३, २०१८) बाहिरिएको छ। त्यसबाहेक ८ संस्करणमा नेपालको चुनौती समूह चरणमै समाप्त भएको थियो।