बाँकेमा जग्गाको सरकारी मूल्यांकन बढ्यो

नेपालगन्ज – बाँकेका आठ वटै स्थानीय तह अन्तर्गत जग्गाको न्यूनतम मूल्यांकन गरिएको छ । सरकारी मूल्यांकन अनुसार सबै भन्दा बढी मूल्य नेपालगन्जको रहेको छ ।

वास्तविक खरिद बिक्रीको मूल्य भन्दा जग्गाको सरकारी मूल्यांकन कम हुने गरेको छ । यद्यपि, सरकारले प्रत्येक बर्ष जग्गाको न्यूनतम मूल्यांकन गरेर दररेट कायम गर्ने गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीको अध्यक्षतामा बसेको घरजग्गाको न्यूनतम मूल्य निर्धारण समितिले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रको जग्गालाई क देखि छ सम्म, खेतीयोग्य र तत्कालीन गाविस हाल नगरमा जोडिएको वर्गीकरण गरी न्यूनतम मूल्य निर्धारण गरेको हो ।

बैठकले भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले आ.व. २०७९/८० को रजिष्ट्रशन प्रयोजनका लागि मुद्रा स्फिति दर, घरजग्गाको मूल्यवृद्धि, कारोबारको स्थिति, स्थानीय तह एवं प्रदेश सरकारको राजश्वको लक्ष्यलाई पूर्ति हुने गरी तयार गरेको मूल्य निर्धारणलाई पास गरेको थियो ।

नेपालगन्ज उपमहानगरपालिका भित्रको क वर्गमा पर्ने जग्गाको न्यूनतम मूल्यांकन आ.व. २०७९/८० का लागि प्रतिकठ्ठा ८६ लाख ६५ हजार प्रतिकठ्ठा कायम गरिएको छ । जुन अघिल्लो आर्थिक बर्ष २०७८/०७९ मा ६८ लाख ७७ हजार रहेको थियो । चालु आ.व.का लागि करिब १८ लाख रुपैयाँ प्रतिकठ्ठा वृद्धि गरिएको हो ।

क वर्गमा चारवाहिनीदेखि उत्तर सदरलाइन त्रिवेणीमोड, गणेशमानचोक पूर्व पुनरावेदन अदालतसम्म सडकको दुवै छेउमा जग्गा, त्रिभुवनचोक पूर्व बाटो रानीतलाउ मोडसम्म, खाँसकारकाँदोदेखि वीरेन्द्रचोक हुँदै पासाङ्ग ल्हामु मार्ग गणेशमानचोकसम्म, न्यूरोड, सुर्खेतरोडदेखि बसपार्कसम्मको क्षेत्र रहेको छ । क वर्गमै रहेको ट्राफिक चोकदेखि चारबाहिनी चोकसम्मको क्षेत्रमा न्यूनतम प्रतिकठ्ठा ७२ लाख ९० हजार कायम गरिएको छ । जुन अघिल्लो आ.व.मा ६० लाख ३८ हजार प्रतिकठ्ठा रहेको छ ।

आ.व. २०७९/८० का लागि ख वर्गको क्षेत्रमा प्रतिकठ्ठा ५९ लाख रुपैयाँ न्यूनतम मूल्यांकन तोकिएको छ । जुन अघिल्लो आ.व.मा २०७८/०७९ मा ४८ लाख ९३ हजार रहेको थियो । ख वर्गमा त्रिवेणीमोड हुँदै घरबारीटोल, विपीचोकदेखि त्रिभुवन चोक, एकलैनी बजार, त्रिवेणीमोडदेखि राप्तीपथ, विपीचोकदेखि मुक्तिपुर, बसपार्क, सल्यानीबाग र फुल्टेक्रा लगायतका क्षेत्र रहेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकामा आ.व. २०७९/८० का लागि ग वर्गको क्षेत्रमा ४४ लाख ५० हजार प्रतिकठ्ठा, घ वर्गको क्षेत्रमा २८ लाख ७५ हजार, ङ वर्गको २७ लाख ६० हजार र २६ लाख ५० हजार, च वर्गको २४ लाख २० हजार, छ वर्गको ११ लाख ७० हजार कायम गरिएको छ ।

त्यस्तै, साविक बहाल विटौरी वा बेलगती जग्गा हाल नयाँ नापीबाट कायम हुन आएको र अन्य वडाहरुको जग्गा मेन रोडमा ८३ लाख, ग्राभेल बाटोमा ५९ लाख, कच्ची बाटोमा ४० लाख ६५ हजार रुपैयाँ कायम गरेको छ ।

साविक उदयपुरको जग्गाको न्यूनतम मूल्यांकन प्रतिकठ्ठा ९० हजारदेखि ४ लाख ४० हजार रुपैयाँसम्म, साविक खास कारकाँदो गाविसको १ लाख ४५ हजारदेखि ७१ लाख, साविक जयसपुरको ८० हजारदेखि १७ लाख ४० हजार रुपैयाँ प्रतिकठ्ठा, साविक परसपुरको १ लाखदेखि २१ लाख ३५ हजार कायम गरिएको छ ।

त्यस्तै, साविक पुरैनाको ८० हजारदेखि ९ लाख ६५ हजार, साविक पुरैनीको ७० हजारदेखि ८ लाख ७० हजार, पिप्रहवाको ९५ हजारदेखि १७ लाख ४० हजार, साविक भवनियापुरको ९० हजारदेखि १७ लाख ४० हजार, बसुदेवपुरको १ लाख देखि ११ लाख २० हजार, मनिकापुरको १ लाख ३० हजारदेखि २४ लाख २० हजार कायम गरिएको छ ।

साविक चटार हाल कोहलपुरको १ लाख ६० हजारदेखि ५५ लाख ४५ हजार, साविक रझेनाको १ लाख ६० हजारदेखि २२ लाख ७० हजार, साविक समशेरगन्जको १ लाख ३० हजार देखि २१ लाख ४० हजारसम्म कायम गरिएको छ ।

साविक इन्द्रपुर हाल जानकी गाउँपालिकाको ८५ हजारदेखि १४ लाख ४० हजार प्रतिकठ्ठा, साविक खजुराखुर्दको ८५ हजारदेखि ९ लाख ८० हजार प्रतिकठ्ठा, साविक गनापुरको १ लाख २५ हजारदेखि १८ लाख ६५ हजार प्रतिकठ्ठा, साविक बेलभारको ७० हजारदेखि २ लाख २० हजार, साविक साइगाउँको ६५ हजारदेखि १ लाख ४५ हजारसम्म प्रतिकठ्ठा सरकारी मूल्यांकन कायम गरिएको छ ।

खजुरा गाउँपालिकामा प्रतिकठ्ठा ६० हजारदेखि १३ लाख ५५ हजार प्रतिकठ्ठा मूल्यांकन रकम कायम गरिएको छ । त्यस्तै, राप्तीसोनारीमा प्रतिकठ्ठा ५० हजारदेखि ९ लाख ८० हजार रुपैयाँसम्म मूल्यांकन कायम गरिएको छ ।

नरैनापुर गाउँपालिकामा प्रतिकठ्ठा जग्गाको मूल्य ३५ हजार रुपैयाँ प्रतिकठ्ठादेखि ७५ हजार रुपैयाँसम्म मूल्यांकन कायम गरिएको छ ।

जग्गाको सरकारी मूल्यांकन भन्दा वास्तविक किनबेचको मूल्यांकन भने निकै बढी रहेको छ । जसकै आधारमा जग्गाको कारोबार हुने गरेको छ । सरकारी मूल्यांकन कम हुँदा कतिपय खरिद, बिक्रेता आपसमा मिलेर कम मूल्यमा बिक्री देखाएर कर छलिने गरेको छ ।

उपमहानगरपालिमा जग्गाको वर्गीकरण

नेपालगन्ज उपमहानगरपालिकाले नगर क्षेत्रमा रहेका जग्गाको वर्गीकरण गरेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले कृषि तथा गैह्र कृषि क्षेत्रमा नगरका २३ वटै वडाका जग्गाको वर्गीकरण गरेको हो ।

कार्यपालिकाको बैठकले वडा नं. १ देखि ११ सम्मका सबै क्षेत्रलाई गैह्र कृषि क्षेत्रका रुपमा राख्ने निर्णय गरेको छ । त्यस्तै वडा नं. १२ मा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालित क्षेत्रबाहेकलाई गैह्र कृषि क्षेत्र तोकेको छ ।

उपमहानगरपालिकाले १३ देखि २३ नं. सम्मका वडालाई क्षेत्र तोकेर कृषि र गैह्र कृषि क्षेत्रमा वर्गीकरण गरेको छ ।