
काठमाडौं – सरकारले कर्णालीलाई बेवास्ता गरेको भन्दै हुम्लाकी सांसद रंगमती शाहीले आक्रोश व्यक्त गरेकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कर्णालीमा अहिलेसम्म पाठ्यपुस्तक नपुगेको भन्दै राज्यको कर्णालीलाई हेर्ने दृष्टिकोण बदलिन नसकेको बताइन् ।
नेपाली कांग्रेसको तर्फबाट सांसद रहेकी शाहीले ‘कर्णालीलाई हेर्ने नजर किन बदलिएन, के कर्णालीमा बनमान्छे बस्छन् त?’ भन्दै विगतमा कांग्रेस प्रतिपक्षमा हुँदा यही प्रश्न उठाएको आफूले अहिले पनि त्यही प्रश्न गर्नु परेको बताइन् । सत्तापक्ष, प्रतिपक्ष दुबैले कर्णालीमा मान्छे बस्छन् भन्ने नठानेको उनको भनाइ छ ।
सांसद शाहीले राजनीतिक दलहरुले दलगत स्वार्थ हेर्दा नागरिकले नागरिकता पाउन नसकेको बताइन् । संविधानले आमाको नाममा नागरिकता पाउने अधिकार दिए पनि अहिलेसम्म नागरिकता विधेयक रोकिँदा धेरै नागरिकहरु गैर नगरिक बनिरहेको उनको भनाइ छ ।

हेलो कर्णाली । १२ असार २०७९, आईतवार १५:२०