
साहस ऊर्जा लिमिटेडले २०७८ असोज ६ गतेदेखि धितोपत्रको प्राररम्भिक सार्वजनिक निष्कसासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।
७० लाख कित्ता सेयरमध्ये ३ प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको छ । बाँकी ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारण्को लागि आवेदन खुलाउन लागेको हो ।
उक्त आईपीओमा सर्वसाधारणले छिटोमा असोज १० गतेसम्म र उक्त अवधिमा आवश्यक आवेदन नपरेमा असोज २० गतेसम्म आवेदन दिने मिति थप हुनेछ । उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्ता सम्मको लागि आवेदन दिन सकिनेछ ।
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपि आईआर डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीले कुल ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोसी) जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । उक्त आयोजनाको प्रमुख पानीको स्रोत सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका र थुलुङ्गदूधकोसी गाउँपालिका लगायतका गाउँपालिकाहरूमा अवस्थित सोलु खोलाको पानी रहेको छ ।
विद्युत् विकास विभागले कम्पनीको सोलु खोला (दूधकोसी) जलविद्युत् आयोजना (८६ मेगावाट)लाई विद्युत उत्पादनको लागि २०७१/०६/०२ अनुमति दिएको थियो । विद्युत् उत्पादन अनुमतिपत्र बहाल रहने अवधि २०७१/०६/०२ देखि २१०६/०६/०१ सम्म रहेको छ । कम्पनीको प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित १३ करोड ७९ लाख ७ हजार अनुमान गरिएको जनाएको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.०२ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १०.१३ वर्ष रहेको छ ।

हेलो कर्णाली । २९ भाद्र २०७८, मंगलवार १२:४०