
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ स्थित धैरेनीचौरमा निर्माण भएको ३३/११ केभीको मुसिकोट सबस्टेसन सञ्चालनमा आएको छ । सबस्टेसनबाट रुकुम पश्चिम, रुकुम पूर्व र जाजरकोटका केही ठाउँहरुमा विद्युत आपूर्ति गरिने छ ।
ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले सोमबार मुसिकोटमा आयोजित कार्यक्रममा सबस्टेसनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा मन्त्री भुसालले दुई वर्षभित्रमा सबै नेपालीको घरमा विद्युत पुर्याउने र विद्युत सेवालाई भरपर्दो तथा गुणस्तरीय बनाउने प्रयास भइरहेको बताइन् । अर्थ मन्त्री शर्माले खाना पकाउने ग्याँसलाई विस्थापित गरी विद्युतीय चुलो प्रयोग गर्न आग्रह गरे ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको पूर्ण विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताए ।
सल्यान सित्तलपाटी सबस्टेसनबाट करिब ८० किलोमिटर लामो ३३ केभी लाइनमार्फत विद्युत लगेर सबस्टेसन सञ्चालनमा ल्याइएको हो । सबस्टेसनमा ३ एमभीए क्षमताको पावर ट्रान्सफर्मर रहेको छ ।

हेलो कर्णाली । ७ चैत्र २०७८, सोमबार २०:५५