आज महाशिवरात्री, पशुपतिनाथ लगायत देशै भरका शिवालयमा बिशेष आराधना गरिदै

आज आराध्यदेव भगवान् शिवको विशेष पूजा आराधना गरी महाशिवरात्रि पर्व मनाइँदै छ । शिवको प्रिय दिनको रुपमा पनि मानिने शिवरात्रिको दिनमा शिव मन्दिरमा विशेष भीड लाग्ने गर्छ । काठमाडौँको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ ।

हलेशी, देवघाटलगायत देशभरका शिवालयमा शिवको विशेष आराधना भइरहेको छ । महाशिवरात्रिका लागि नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट समेत पशुपति मन्दिर परिसरमा साधुसन्तहरू आएका छन् ।

पशुपति आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोषले दान दक्षिणासहित बिदा गर्ने प्रचलन छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा देशभरका शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ ।

दर्शनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी र कोषका अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटनमन्त्री तथा नागरिक उड्यानमन्त्री प्रेम आले पनि पशुपतिनाथ मन्दिर पुग्ने कोषले जनाएको छ । विशिष्ट व्यक्तिहरुका लागि तिलगंगा पट्टिको गेटबाट दर्शको व्यवस्था मिलाइएको छ ।

महाशिवरात्रिका अवसरमा पशुपति मन्दिर आउने भक्तजनहरुको भीडलाई मध्यनजर गर्दै आज बिहान ४ बजेदेखि पशुपतिका चार वटै ढोका खोलिएका छन् । मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषले जनाएको छ ।

कोरोना महामारीको जोखिम कायमै रहेको समयमा समेत यस वर्ष आठ लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिन पशुपति दर्शन गर्न सक्नेगरी व्यवस्थापन गरिएको कोषले जनाएको छ । यो वर्ष पशुपतिनाथ मन्दिर प्रवेश गर्नेे भक्तजनहरुका लागि मास्कको प्रयोग अनिवार्य गरिएको छ ।