प्रेस स्वतन्त्रतामा अघिल्लो वर्षभन्दा यो वर्ष हनन बढी : पत्रकार महासंघ

काठमाडौं – नेपाल पत्रकार महासंघले सन् २०२० मा भन्दा २०२१ मा प्रेस स्वतन्त्रतामाथि बढी आक्रमण भएको रिपोर्ट सार्वजनिक गरेको छ ।

सन् २०२१ पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रहेको निष्कर्ष सार्वजनिक गर्दै महासंघले तुलानात्मक रूपमा यस वर्ष अघिल्लो वर्षभन्दा प्रेस स्वतन्त्रता हननका घटना बढेको अभिलेखीकरण सार्वजनिक गरेको छ ।

यसवर्ष पनि समाचारका विषयलाई लिएर वा समाचार संकलनमा क्रममा विभिन्न पक्षबाट भएका धम्की, आक्रमण, दुर्व्यवहार लगायतका घटनाबाट पत्रकार तथा सञ्चारमाध्यम पीडित हुन पुगेको जनाएको छ ।

विभिन्न समूहले गरेको विरोध प्रदर्शनको समाचार संकलनका क्रममा प्रहरीको लाठी प्रहारबाट पत्रकारहरू घाइते हुन पुगेका उल्लेख गर्दै महासंघले यस वर्ष पनि सार्वजनिक कार्यक्रमका समाचार संकलनमा पत्रकारलाई रोक लगाउने कामले उत्तिकै निरन्तरता पाएको जनाएको छ ।