देशभर ८ अर्ब भन्दा बढी मूल्यको धानबालीमा क्षति, कर्णालीमा ३० करोड माथीको क्षति

गत सात आएको बेमौसमी अविरल वर्षाले मुलुकभर ८ अर्ब २६ करोड ८० लाख मूल्य बराबरको  धानबालीमा क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार सातवटा प्रदेशका विभिन्न जिल्ला गरी ८ अर्ब २६ करोड ८० लाख मूल्य बराबरको ३ लाख २५ हजार २ सय ५८ मेट्रिक टन धानमा क्षति भएको हो ।

मन्त्रालय प्रवक्ता  प्रकाशकुमार सन्जेलले बेमौसमी वर्षाले कारण सातवटा प्रदेशका विभिन्न जिल्ला गरी ८५ हजार ५ सय ८० हेक्टर क्षेत्रफलमा रोपेको धानबालीमा क्षति भएको बताए । उनले २ लाख ८५ हजार ५ सय ९ हेक्टर क्षेत्रफलमा रोपेको धानबालीमा असर पुगेको बताए ।

बाढीले झन्डै ३ लाख हेक्टर क्षेत्रफलमा पाकेको धानबालीमा असर

प्रवक्ता सन्जेलले सबैभन्दा धेरै लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भित्र्याउँदै गरेको धानबालीमा बाढी क्षति भएको बताए । उनले सातवटा प्रदेश गरी ८ अर्ब २६ करोड ८० लाख मूल्य बराबरको धानबालीमा भएको क्षति मध्यमा लुम्बिनी प्रदेशमा मात्र ४ अर्ब ५१ करोड र सुदूरपश्चिम प्रदेशमा १ अर्ब ९१ करोड मूल्य बराबरको धानमा क्षति भएको बताए ।

कृषि मन्त्रालयका तथ्यांक अनुसार लुम्बिनी प्रदेशका बाँके, रूपन्देही, बर्दिया, कपिलवस्तु गरी ४२ हजार ४ सय २७ हेक्टर क्षेत्रफलमा पाकेको धानबालीमा क्षति पुगेको छ भने ९३ हजार ५ सय ७६ हेक्टर क्षेत्रफलमा रोपेको धानबालीमा असर पुगेको छ ।

यसैगरी, सुदूरपश्चिमा प्रदेशको कैलाली र कञ्चपुरका दुई जिल्लामा धानबालीमा बाढीले क्षति गरेको । कैलाली र कञ्चपुरमा गरी १८ हजार हेक्टर क्षेत्रफल जमिनमा रोपेको धानबालीमा क्षति भएको छ भने ५५ हजार हेक्टर क्षेत्रफलमा रोपेको धानबालीमा बाढीले असर गरेको छ ।

कृषि मन्त्रालयका तथ्यांकअनुसार बेमौसमी वर्षाले सबैभन्दा कम बागमती प्रदेशको धानबालीमा क्षति भएको छ । सो प्रदेशमा ५ करोड ८० लाख मूल्य बराबरको धानबालीमा क्षति भएको छ । बागमतीको प्रदेशको दुई जिल्ला चितवन र नुवाकोटमा ७ हजार ५ सय हेक्टर क्षेत्रफलमा रोपेको धानबालीमा असर पुगेको छ भने ५ सय ३० हेक्टर रोपेको धानबालीमा क्षति भएको छ ।

यसैगरी, कर्णाली प्रदेशको ३० करोड मूल्य बराबरको धानबालीमा क्षति भएको छ । २२ हजार ५ सय हेक्टर क्षेत्रफलमा असर पुगेको छ भने १० हजार ५ सय ८४ हेक्टर क्षेत्रफलको धानबालीमा क्षति भएको छ ।

मन्त्रालयका तथ्यांकअनुसार कर्णालीका चारवटा जिल्ला डोल्पा, जुम्ला, सल्यान सुर्खेतको १० हजार ५ सय ८४ हेक्टर क्षेत्रफलमा रोपेको धानबालीमा बाढी क्षति गरेको छ । यसैगरी गण्डकी प्रदेशमा १३ करोड मूल्य बराबरको धानबालीमा क्षति पुगेको छ । गण्डकी प्रदेशको स्याङ्जा र कस्कीको ८ हजार ३ सय ४ हेक्टर क्षेत्रफलको जमिनमा पाकेको धानबालीमा असर पुगेको छ भने १ हजार १ सय ९२ हेक्टर क्षेत्रफलको जमिनमा पाकेको धानबाली क्षति भएको छ ।

कृषि मन्त्रालयका तथ्यांकअनुसार प्रदेश १ मा ८० करोेड मूल्य बराबरको धानमा क्षति पुगेको छ । प्रदेश १ को झापा, मोरङ र सुनसरी गरी ४९ हजार ९ सय ४५ हेक्टर क्षेत्रफलमा रोपेको धानबालीमा असर पुगेको छ भने ७ हजार ४ सय ९२ हेक्टर क्षेत्रफलमा रोपेको धानबालीमा क्षति भएको छ । यसैगरी, प्रदेश २ मा ५६ करोड मूल्य बराबरको धानमा क्षति भएको छ । प्रदेश २ को सप्तरी, सिरहा र सर्लाहीका तीन जिल्लाको ५ हजार ३ सय ५५ हेक्टर क्षेत्रफलमा रोपेको धानबालीमा क्षति पुगेको हो ।

यसैगरी सो तीन जिल्लाको ४८ हजार ६ सय ८४ हेक्टर क्षेत्रफलमा रोपेको धानबालीमा बाढी असर गरेको छ । प्रवक्ता सन्जेलले प्रदेशस्तरमा तथ्यांक संकलनमा समन्वय र सहजीकरणका लागि सातवटै प्रदेशमा एक-एकवटा कार्य टोली गठन गरीएको बताए । यसगरी उनले सातै प्रदेशका कृषिमन्त्री र कृषि सचिवको बैठकमा क्षति मूल्यांकन र राहतबारे यही मंगलबार मन्त्रालयमा छलफलका राखिएको जानकारी दिए ।-राजधानी दनिक बाट