रामकुमारी झाँक्री स्वास्थ्यमन्त्री बन्दै

नेकपा एकीकृत समाजवादी पार्टीकी नेता रामकुमारी झाँक्री स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएकी छन्।

बिहीबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एकीकृत समाजवादीले पाउने निर्णय गरेको थियो।

गठबन्धनमा सहभागी दलहरुले मन्त्रालयको भागबण्डा मिलेपछि एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ।

बिहीबार राति अध्यक्ष माधवकुमार नेपाल, महासचिव बेदुराम भुसालसहितका नेताहरु सहभागी बैठकले मन्त्रीको नाम टुंगो लगाएको समाजवादीका एक नेताले बताए।

बिहीबार रातिको निर्णयानुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी एकीकृत समाजवादीकी सचिव समेत रहेकी नेता झाँक्रीले पाउने भएकी हुन्।

एकीकृत समाजवादीको नेतृत्व गरेर विरोध खतिवडा शहरी विकास मन्त्रीका रुपमा सरकारमा सहभागी हुने छन्।

प्रेम आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन्।
एकीकृत समाजवादीले किसान श्रेष्ठलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाउने भएको छ।

समाजवादीले राज्यमन्त्रीका रुपमा भवानी खापुङलाई सरकारमा पठाउने भएको छ। तर, उनको जिम्मेवारी खुलाइएको छैन।