‘ब्रेक द बायस’ भन्ने नारा सहित मंगलबार ११२ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै

‘ब्रेक द बायस’ (पूर्वाग्रह तोडौं) भन्‍ने नारासहित मंगलबार ११२ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ। लैंगिक असमानताहरु र पूर्वाग्रहरुलाई भत्काउँदै महिला सशक्तिकरणको अभियानसहित मंगलबार देश-विदेशमा विभिन्‍न कार्यक्रमहरु गरी अन्तर्राष्ट्रिय नारी दिवस मनाउन लागिएको हो।

नेपालको संविधानले पनि राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्था गरेको छ।

संघ, प्रदेश र पालिकामा प्रतिनिधित्वसहित राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएको छ। महिला हिंसा तथा उत्पीडन अन्त्यका लागि विभिन्‍न कानुन बनेका छन्। तर महिला हिंसाका घटनामा कमी आउन नसकेको भन्दै महिला अधिकारकर्मीहरु चिन्तित बनेका छन्।

दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेताहरुले शुभकामना व्यक्त गरेका छन्। संसारकै अपरिहार्य शक्तिको रुपमा रहेका नारीहरुको समानताका लागि सबैले आवाज बुलन्द गर्नुपर्ने महिलाअधिकारीहरुले बताएका छन्।