सेयर बजारमा १९.४३ अंकको वृद्धि, कारोबार रकम ७ अर्ब नाघ्यो

साताको पहिलो दिन उच्च अंकले उकालो लागेको सेयर बजार साताको दोस्रो कारोबार दिन आज (सोमबार) पनि उकालो लागेको छ ।

आज सेयर बजार मापन परिसूचक नेप्से १९ दशमलव ४३ अंकले बढेर २ हजार ७ सय ८४ दशमलव ९५ विन्दुमा आइपुगेको छ । हिजो नेप्से ७३ दशमलव ०१ अंकले बढेर २ हजार ७ सय ६५ दशमलव ७४ विन्दुमा पुगेको थियो ।

आज समग्रमा नेप्से ० दशमलव ७० प्रतिशतले बढेको छ । यसैगरी, आज ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३ दशमलव १६ अंकले बढेर ५ सय २२ दशमलव ५३ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कारोबार रकममा हिजोको तुलनामा दुई लाख रपैयाँभन्दा धेरैले बढेर सात अर्ब १२ करोड ३४ लाख २४ हजार रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएका कूल २३६ वटा कम्पनीका एक करोड एक करोड ८२ लाख ८८ हजार १३० कित्ता सेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ उपसमूहमध्ये तीन उपसमूहको सेयर मूल्य ओरालो लागेको छ भने बाँकी समूहको सेयर मूल्य उकालो लागेको छ ।

आज कारोबारमा आएको तीन कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

आज मध्य भोटेकोशीको सेयर मूल्य १० प्रतिशत, युनियन जलविद्युत कम्पनीको ९ दशमलव ९९ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेको हो । आज २२ करोड ७७ लाख रुपैयाँभन्दा बढीसहित खरिद–बिक्री रकममा गोर्खा फाइनान्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल टेलिकम र एचआईडीसीएल परेका छन् ।