नेकपा एमालेले पार्टी प्रवेश अभियान चलाउने

काठमाडौं – नेकपा एमालेले पार्टी प्रवेश अभियान सन्चालन गर्ने भएको छ । प्रगतिशील र वामपन्थी शक्तिको साझा पार्टीका रुपमा एमालेको विकास गर्ने भन्दै उसले त्यसका लागि पार्टी प्रवेश अभियान सन्चालन गर्ने निर्णय गरेको हो ।

पार्टी प्रवेश अभियान र १० औं महाधिवेशनपछि लिइएका नीति तथा निर्णयबाट आगामी तीनै तहका निर्वाचनमा बहुमत प्राप्त प्रार्टी बन्ने एमालेले दाबीसमेत गरेको छ ।

‘हाम्रो पार्टी आगामी तीनै तहका निर्वाचनमा पहिलोमात्र होइन, बहुमत प्राप्त पार्टीका रुपमा स्थापित हुने निश्चित छ,’ एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा लेखिएको छ ।

नेपालको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको भन्दै एमालेले एउटा ध्रुवको नेतृत्व आफूहरुले र अर्को ध्रुवको नेतृत्व पाँच दलीय सत्ता गठबन्धनले गरेको जनाएको छ । सत्ता गठबन्धनको गतिविधिको सामना गर्ने र आफ्नो शक्तिलाई थप सुदृढ बनाउन सफल हुने एमालेले जनाएको छ ।

पार्टी र पार्टीको मुख्य नेतृत्वका विरुद्धमा घेराबन्दी र आक्रमण भइरहेको बेलामा विधान महाधिवेशन र दशौं राष्ट्रिय महाधिवेशन ऐतिहासिक रुपमा सफल पारेको दाबी समेत एमालेले गरेको छ ।