जाजरकोटको कुदुमा बस दुर्घटना, ५ को मृत्यु, २७ जना घाइते

जाजरकोट – आइतबार बिहान दुई बजे तिर जाजरकोटको कुदु बराहचौर नजिक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

नेपालगन्जदेखि रुकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस भेरी नगरपालिका कुदु बराहचौर नजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । जाजरकोटका प्रहरी प्रमुख मधुकुमार थापाका अनुसार बसमा ३२ जना यात्रु सवार थिए।

घाइते रहेका २७ जनालाई प्रहरीले आफ्नै दुई वटा गाडीमा र अन्य बसमा उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा ल्याएको डिएसपी थापाले बताए।

दुर्घटना रातीमा भएका कारण उद्धारमा ढिलाई भएको उनले बताए।दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भइरहेको प्रहरीले जनाएको छ।दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिका गरी पांच जनाको मृत्यु भएको छ ।

दुर्घटनास्थल जाजरकोट सदरमुकामबाट करीब ११ किलोमिटर पश्चिममा पर्दछ । बस सडकबाट करीब दुई सय मिटर तल खसेको छ । बस दुर्घटनाको कारण खुलेको छैन । चालक प्रहरी नियन्त्रणमा रहेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।