प्रदेश अधिवेशनका लागि कांग्रेसले सातै प्रदेशमा तोक्यो संयोजक

नेपाली कांग्रेसले सात प्रदेशमा पहिलोपटक मंसिर १६ र १७ मा पार्टी अधिवेशन गर्न लागेको छ।

आज बूढानिलकण्ठमा बसेको केन्द्रीय समिति बैठकमा अधिवेशनका लागि सात जना नेतालाई जिम्मेवारी दिइएको छ। सात नेतालाई प्रदेश अधिवेशन मुल आयोजक समितिको संयोजक तोकेर अधिवेशन गर्ने जिम्मेवारी दिने प्रस्ताव महामन्त्री पूर्णबहादुर खड्काले राखेका छन्।

जसअनुसार प्रदेश नम्बर १ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला प्रदेश अधिवेशन आयोजक समितिका संयोजक तोकिएका छन्। प्रदेश अधिवेशन भने विराटनगरमा हुनेछ।

त्यस्तै प्रदेश नम्बर २ मा रमेश रिजाल संयोजक र अधिवेशन जनकपुरधाममा हुनेछ, बागमती प्रदेशमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र अधिवेशन हेटौंडामा हुनेछ, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ र अधिवेशन पोखरामा हुनेछ अनि लुम्बिनी प्रदेशमा बालकृष्ण खाण र अधिवेशन बुटवलमा हुनेछ।

त्यस्तै कर्णाली प्रदेशमा जीवनबहादुर शाही र अधिवेशन सुर्खेतमा हुनेछ अनि सुदूरपश्चिम प्रदेशमा दिलेन्द्रप्रसाद बडु र अधिवेशन धनगढीमा हुनेछ।

हाल पार्टीको प्रदेश समिति नभएका कारण अधिवेशनका लागि संयोजक तोकिएको र यी सात जना नेताको संयोजकत्वमा बनेको आयोजक समितिमा प्रदेश सभा संसदीय दलका नेता, प्रदेश सांसद, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूलगायत समितिमा रहनेछन्।

कांग्रेसले संघीय संरचनामा गएपछि पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको हो। केन्द्रीय महाधिवेशन भने कांग्रेसले मंसिर २४ देखि २६ सम्म काठमाडौंमा गर्ने भएको छ।

साथै कांग्रेसले अबदेखि नीति र नेतृत्व महाधिवेशन फरक-फरक गर्ने तयारी गरेको छ। प्रवक्ता शर्माका अनुसार अहिले नेतृत्व महाधिवेशन गर्ने र अब आउने नेतृत्वले उचित समयमा नीति महाधिवेशन गर्नेबारे छलफल भएको हो।