नेपाल-भारत नाकाबाट आउनजान परिचयपत्रको व्यवस्था गर्ने तयारी

काठमाडौं – नेपाल सरकारले सीमा सुरक्षामा कडाइ गर्दै दुवै देशका नागरिकलाई सीमा क्षेत्रबाट आवतजावतका लागि परिचयपत्रको व्यवस्था गर्न भारतसँग प्रस्ताव गर्ने भएको छ। नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै अवैध घुसपैठ हुँदा सुरक्षा चुनौती बढेको भन्दै सरकारले भारत सरकारसमक्ष यस्तो प्रस्ताव राख्ने तयारी गरेको हो।

पछिल्लो समयमा अफगानिस्तानमा भएको सत्ता परिवर्तनपछि भारत हुँदै बेलहिया नाकाबाट अफगानी नागरिक नेपाल पसेका छन्। त्यसअघि म्यान्मार, इराकलगायत मुलुकका नागरिक शरणार्थीका रूपमा नेपाल आइसकेका छन्। छलफलमा सुरक्षा निकायका अधिकारीले शरणार्थीका रूपमा नेपाल आउने विदेशीबाट सुरक्षामा चुनौती थपिने भन्दै त्यस्तो हुन नदिन नेपाल–भारतका नागरिक आवतजावतका लागि दुवै देशले परिचयपत्रको व्यवस्था गर्नुपर्ने धारणा राखेका छन्।

अवैध रूपमा नेपाल पसेका अफगानीलगायत विदेशीलाई राष्ट्रसंघको नेपालस्थित शरणार्थी मामिलासम्बन्धी उच्च आयुक्त (युएनएचसिआर) को कार्यालयले शरणार्थीको परिचयपत्र बनादिएको छ। द्वन्द्वग्रस्त देशहरूबाट शरणार्थीका रूपमा नेपाल आएका मानिस आतंकवादी समूहबाट परिचालित हुन सक्ने सुरक्षा निकायको आशंका छ।