विश्वकपसम्बन्धी केही रमाइला किस्सा र तथ्य

काठमाडौं- कतारमा ठूलो तामझामका साका साथ आइतबार साँझबाट फिफा विश्वकप सुरु हुँदैछ। आयोजक कतारले इक्वेडरसँग ६० हजार समर्थक अटाउन सक्ने अल बाएट रंगशालामा भव्यताका साथ उद्घाटन खेल खेल्दैछ। ३२ टोली प्रतिस्पर्धा गर्ने यस प्रतियोगिताको फाइनल खेल डिसेम्बर १८ मा हुनेछ।

सन् १९३० बाट सुरु भएको फिफा विश्वकप कतारसम्म आइपुग्दा २२ औं संस्करण पूरा हुँदैछ। विश्वकपमा धेरै रमाइला तथा दुःखद् घटना घटेका छन्। यसका केही तथ्यहरु पनि छन्।

सर्वाधिक विजेताः २२ औं संस्करणसम्म आइपुग्दा अहिलेसम्म दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले सर्वाधिक पाँच (१९५८, ६२, ७० र २००२) पटक उपाधि जितेको छ। त्यसपछि जर्मनी र इटालीले समान चार-चार पटक उपाधि जितेका छन्।

पहिलो विश्वकपः विश्वकपको पहिलो संस्करण दक्षिण अमेरिकी राष्ट्र उरुग्वेमा सन् १९३० जुन १३ देखि जुलाइ ३० सम्म भएको थियो। १३ टिम सहभागी प्रतियोगिताको उपाधि पनि आयोजक उरुग्वेले नै जितेको थियो। उसले फाइनलमा निकटतम प्रतिस्पर्धी अर्जेन्टिनालाई ४-२ गोल अन्तरले जितेको थियो।

विश्वकप चार-चार वर्षमा किन?
फिफा विश्वकप सधैं चार वर्षको अन्तरालमा हुने गर्दछ। विश्वकप पर्खेर बस्नेका लागि चार वर्ष कुर्नुपर्छ र यो निकै धेरै समय हो। तर विश्वकपमा सहभागिता जनाउने राष्ट्रको टुंगो लगाउन विश्वकप छनोट खेल खेल्नुपर्छ। विभिन्न महादेशमा फिफाको नियमअनुसार सबै देशले विश्वकप छनोट खेल्नुपर्छ। त्यसका लागि धेरै समय लाग्ने गर्दछ, त्यसैले विश्वकप चार वर्षमा हुने गर्दछ।

विश्वकपमा पहिलो पेनाल्टी सुटआउटः खेलको निर्धारित र अतिरिक्त समयसम्म पनि दुवै टिमको नतिजा बराबरी भएमा निर्णायक नतिजा निकाल्न पेनाल्टी सुटआउट गर्नुपर्ने हुन्छ। यही पेनाल्टी सुटआउट विश्वकपमा पहिलो पटक सन् १९८२ मा पश्चिम जर्मनी र फ्रान्सबीच सेमिफाइनलमा भएको थियो। उक्त पेनाल्टी सुटआउट जर्मनीले ५-४ गोल अन्तरले जितेको थियो। तर फाइनलमा पश्चिम जर्मनी इटालीसँग ३-१ गोल अन्तरले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।

पहिलो पहेंलो र रातो कार्डः विश्वकपमा कार्डको व्यवस्था सन् १९७० बाट सुरु भएको हो। त्यसपछि सोभियत संघका खेलाडी लोचेभले मेक्सिको विरुद्धको खेलमा फउल गरेपछि सोही विश्वकपमा पहिलो पहेंलो कार्ड व्यहोरेका थिए। त्यस्तै डव्यान बाबक्यान रेफ्रीले चिलीका कार्लोस कासज्लीलाई पश्चिपम जर्मनी विरुद्धको खेलमा जर्मनीका खेलाडीमाथि फउल गरेपछि रातो कार्ड देखाएका थिए। त्यो नै विश्वकपको पहिलो रातो कार्ड थियो।

विश्वकपको पहिलो कपः जुलिस रिम्टले सन् १९३० को पहिलो विश्वकपमा विजेताका लागि कप बनाएका थिए। यो कप विजेता बन्ने टिमले अस्थायी रुपमा सन् १९३० देखि १९७० सम्म चार-चार वर्षको अवधिमा आफूसँग राखेका थिए। तर ब्राजिलले त्यसबेला सर्वाधिक तीपटक उपाधि जितेपछि उसलाई सधैंभरिका लागि दिइएको थियो। तर दुखद् रुपमा सन् १९८३ मा त्यो ट्रफी चोरी भयो, जुन अहिलेसम्म पनि भेटिएको छैन। त्यसपछि बनाइएको कपमा १८ क्यारेटको सुन लगाइएको थियो।

विश्वकपमा समर्थकको सर्वाधिक उपस्थिति: ब्राजिलमा आयोजना भएको सन् १९५० को विश्वकपमा आयोजक ब्राजिल र उरुग्वेबीच रियो दि जेनेरियोमा भएको खेलमा एक लाख उनानब्बे हजार आठ सय ५४ दर्शक उपस्थित थिए। त्यस समय यो संख्या भनेको आइसल्यान्डको कुल जनसंख्याको आधा भन्दा पनि धेरै थियो।

विश्वकपमा सर्वाधिक खर्चः कतारमा भइरहेको फिफा विश्वकप इतिहासकै सबैभन्दा धेरै खर्च भएको विश्वकप बनेको छ। पहिलो पटक विश्वकप आयोजना गरेको कतारले २२० बिलियन डलर खर्च गरेको छ। यो सन् २०१८ को विश्वकपमा रसियाले गरेको खर्चभन्दा १४ गुणा धेरै हो, यसअघि रसियाले १४.२ बिलियन खर्च गरेर विश्वकप आयोजना गरेको थियो।

गोल लाइन टेक्नोलोजीः फुटबलमा अहिले खेलको निष्पक्षताका लागि मैदानमा रहेका रेफ्री बाहेक विभिन्न टेक्नोलोजीको प्रयोग हुन थालिसकेको छ। यसैबीच फुटबलमा गोल लाइन टेक्नोलोजी सन् २०१४ को विश्वकपदेखि सुरु भएको हो। खेलाडीले गरेको गोललाई प्रमाणित गर्नका लागि यसको प्रयोग गर्ने गरिन्छ।

सर्वाधिक ड्रिब्लिङः विश्वकपमा सबैभन्दा धेरै ड्रिब्लिङ गर्ने खेलाडी हुन् अर्जेन्टिनाका लियोनेल मेस्सी। मेस्सीले विश्वकपमा १०७ वटा ड्रिबलिङ गरेका छन्। उनले अर्जेन्टिनाकै डिएगो म्याराडोनालाई पछि पारेका हुन्। म्याराडोनाले विश्वकपमा १०५ ड्रिबलिङ गरेका थिए।

कुन महादेशबाट कति टिम सहभागीः विश्वकपमा छनोट हुने विभिन्न टिमहरु विभिन्न महादेशबाट रहेका हुन्छन्। सबै महादेशबाट कति टिमले सहभागिता जनाउने भनेर फिफाले नियम बनाएको छ। जसबाट विश्वकपमा सहभागी ३२ टिममध्ये सबैभन्दा धेरै टिम युरोप महादेशबाट रहेका छन्। युरोपका १३ टिमले विश्वकप खेल्ने गर्छन्। त्यस्तै एशियाबाट पाँच टिम, अफ्रिकाबाट पाँच टिम, अमेरीकी क्षेत्रबाट आठ वा नौ टिम, अष्ट्रेलियाबाट १ टिमले विश्वकप खल्ने गर्छ।

विश्वकपमा पराजित नभइ बाहिरिएको टिमः सन् २०१० को अफ्रिका विश्वकपमा न्युजिल्यान्ड यस्तो टिम बन्यो जसले एउटा खेल पनि पराजित नभइ प्रतियोगिताबाट बाहिरिएको थियो। उसले समूह चरणका तीनैवटा खेलमा बराबरी गरेर तीन अंक बनाएर तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको थियो। त्यस संस्करणको विजेता टिम स्पेनले प्रतियोगिताको पहिलो खेलमा स्विटजरल्यान्डसँग पराजय व्यहोरेको थियो।

एउटै विश्वकपमा सर्वाधिक गोलः फ्रान्सका लिजेन्ड खेलाडी जस्ट फोनटाइनले सन् १९५८ को विश्वकपमा सर्वाधिक १३ गोल गरेका थिए। कुनै पनि खेलाडीले अहिलेसम्म एउटै प्रतियोगितामा यति धेरै गोल गर्न सकेका छैनन्। उनी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको चौथो स्थानमा रहेका छन्।

एउटै खेलाडी फरक फरक टिममा: सुन्दा अच्चम लाग्ला तर विश्वकपको पहिलो संस्करणमा अर्जेन्टिनाबाट खेलेका लुइस मोन्टी दोस्रो संस्करणमा इटालीबाट खेलेका थिए। त्यसपछि धेरै खेलाडीले दुई टिमबाट विश्वकप खेलेका छन्। तर मोन्टी त्यसरी खेल्ने पहिलो खेलाडी हुन्।

छिटो सब्स्टिच्युट: अष्ट्रिया विरुद्धको खेलमा इटालीका एलेस्सान्द्रफ नेस्टा सुरुवाती खेलको चौथो मिनेटमै सब्सिट्युट भएका थिए। सन् १९९८ को विश्वकपमा सब्सिट्युट भएका उनी सबैभन्दा छिटो सब्सिट्युट हुने खेलाडी हुन्।

विश्वकपमा पहिलो गोलः उरुग्वेमा भएको पहिलो संस्करणको पहिलो खेलमा मेक्सिको र फ्रान्सबीचको खेल फ्रान्सले ४-१ गोल अन्तरले जित्यो। जसक्रममा फ्रान्सका लागि लुसियान लौरेन्टले पहिलो गोल गरेका थिए। उक्त गोल विश्वकपमा पहिलो गोल थियो।

कान्छा खेलाडीः सर्वाधिक तीन पटक फिफा विश्वकप जितेका ब्राजिलका पेले विश्वकपमा सहभागिता जनाउने सबैभन्दा कान्छा खेलाडी हुन्। उनले सन् १९५८ को विश्वकप खेल्दा १७ वर्ष २४९ दिनका थिए।

बूढा खेलाडीः इजिप्टका गोलकिपर इसाम एल हादारी विश्वकप खेल्ने सबैभन्दा बूढा खेलाडी हुन्। उनले सन् २०१८ को विश्वकप खेल्दा उनी ४५ वर्ष १६१ दिनका थिए। त्यसपश्चात उनले आफ्नो खेल जीवनबाट संन्यास लिए।

लियोनेल मेस्सीः अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी पाँचौं विश्वकप खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्। उनको अहिलेको उमेर ३५ वर्ष १३४ दिन रहेको छ। सन् २००६ बाट विश्वकपमा डेब्यु गरेका उनको यो पाँचौं विश्वकप हो।

– समाचार एजेन्सीहरुको सहयोगमा